40 Views
११ भदौ, काठमाडौं । सर्लाहीको मलंगवा–४ बस्ने लाले मेस्तर उमेरले ५७ पुगे । नगरपालिकाका सरसफाई कर्मचारी उनले यो काम कहिलेदेखि गर्दै आए सम्झना छैन ।
आफ्नो बुवाले आफूलाई काममा लगेजस्तै लालेले पनि छोरा विजय मेस्तरलाई सानैदेखि काममा लाने गर्थे । अहिले विजय ३५ पुगे र सरसफाईकै कामलाई निरन्तरता दिइरहेका छन् ।
‘मलाई याद पनि छैन म कहिलेदेखि जान लागेको हुँ । १३–१४ वर्ष हुँदादेखि नै होला मैले सबैखाले सरसफाइको काम गरेको हुँ,’ विजयले सम्झिए । उनका अनुसार पहिले सेप्टिक ट्यांकी सफा गर्ने काम हातैले गरिन्थ्यो । त्यो मेस्तर समुदायका मानिसले गर्थे । उनले पनि यसरी काम गरेका छन् र काम पाए गर्छन् ।
‘अहिले धेरै भयो त्यसरी सफा गर्न गएको छैन । सबैले ट्यांकर नै बोलाउँछन्,’ विजयले भने । उनका पिता लालेका अनुसार यसरी सफा गर्न जाँदा दुर्गन्ध कम होस् भनी मट्टितेल छरिन्थ्यो । घृणाको काम भएका कारण यसमा खटिनेहरुले मादक पदार्थ सेवन गर्थे ।
‘हात पस्दासम्म टिनको कनस्टर वा पुरानो बाल्टिनमा डोरी बाँधेर निकालिन्थ्यो । अनि बाल्टिन पस्न बन्द भएपछि मान्छे आफै फोहोरमा पसेर निकालेर फाल्थे,’ लाले सम्झिन्छन् । यसमा एक जनादेखि आधा एक दर्जनसम्म मजदूरको संलग्नता हुन्थ्यो ।
जति पर फाल्नु छ र जति फोहोर छ, त्यसका आधारमा मान्छे तय हुन्थे र पैसा पनि । एउटाले अर्काको हातमा फोहोरको भाँडो दिने र मान्छे लाइनै लगाएर बस्थे अनि भनिएको ठाउँमा फाल्थे ।
‘यसरी निकालिएको फोहोर आँगनबारी तिर वा अलिक पर्तिर गाडिन्थ्यो । पाँच सयको काम गराएर पाँच रुपैयाँ दिन्थे । हामीले अरु केही काम गर्न पाउँदैनथ्यौँ । अनि जति पाए पनि काम गर्नैपथ्र्यो,’ लालेले थपे । उनको भनाइमा अरु काम गर्न नसकेपछि जेमा पैसा पाइन्छ, त्यहि गरिरहनु परेको छ ।
यस्तै हातले मलमूत्रको सेप्टिक ट्यांकी सफा गरेको कामको अनुभव सुनाउँछन् सिरहाका २६ वर्षीय विक्की मेस्तर पनि । उनी पनि कसैले बोलाए हातैले सेप्टिक ट्यांकी सफा गर्छन् । किशोरावस्थादेखि नै उनले यो कार्य गर्दै आएका छन् ।
पुस्ताले गर्दै आएको कामलाई उनले पनि निरन्तरता दिए । सात कक्षा पढेका उनी भन्छन्, ‘धर्तीले मल सोसेपछि त्यो मेसिनले तानेर निस्किँदैन । अनि हात प्रयोग गर्नेबाहेक विकल्प नै छैन । यसमा पैसा पनि बढी छ । अहिले उनले पञ्जा र बुट प्रयोग गर्छन् ।
हाल मलमूत्र गाड्न खाली जग्गाको अभाव र पोखरी आदिमा मलमूत्र विसर्जनमा स्थानीय तह तथा प्रशासनले रोक लगाएका कारण मान्छेले मेसिन नै प्रयोग गरेर फोहोर फाल्न लगाउँछन् । तर, अझसम्म ठूला खोला र नदीछेउ अनि खुला स्थानमा यस्तो मलमुत्र विसर्जन गर्ने अभ्यास छ ।
मधेसका मेस्तर र हलखोर समुदाय सरसफाइको काम गर्छन् । यसबाहेक सिनो व्यवस्थापनजस्ता कार्य मधेशमा दलितले नै गरिरहेका हुन्छन् । यहाँका सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्थाहरुमा पनि सरसफाइ र शौचालयको काम प्रायः उनीहरुकै जिम्मामा हुन्छ । यसैभित्र पर्छ, सेप्टिक ट्यांकीको सफाइ पनि । तर उनीहरुको स्वास्थ्य तथा पेसागत सुरक्षाको विषय सधैँ उपेक्षमा परेको छ । समाज र राज्य दुवैले बेवास्ता गरेका छन् ।
स्वास्थ्यको जोखिमलाई बेवास्ता
दशकअघि यसरी नै मान्छेकै हातले सेप्टिक ट्यांकी सफा गराएका सर्लाहीको मलंगवा नगरपालिका–३ का सत्यनारायण लालका अनुसार यसरी सफा गर्न आउनेहरुलाई आफूलाई हुनसक्ने जोखिमबारे आँकलन नै हुँदैन । उनले त्यहिँको दुसधटोलीका एक युवालाई सफा गर्न लगाएका थिए र आँगनमै खाल्डो खनी त्यसको व्यवस्थापन गरेका थिए ।
‘उनीहरुले एडभान्स माग्नुको कारण नै हो रक्सी खान । रक्सी नखाइ म कामै गर्न सक्दिनँ भन्छन् सीधै । हामीले जोखिमको काम हो खाएर नगर भन्छौँ, तर मान्ने वा नमान्ने त उनीहरुको जिम्मा हो नि !’ उनले भने । सरसफाइकर्मीमध्ये युवा पुस्तामा अहिले भने चेतना बढेको छ । युवाहरु मास्क र पञ्जा लगाएर काम गर्ने गरेका छन् ।
सिरहास्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड सुनिलप्रसाद कुशवाहा बिना उपयुक्त सुरक्षा उपकरण सेप्टिक ट्यांकीमा पस्ने र सफा गर्ने गर्दा थुप्रै रोगको जोखिम भएको उनको भनाइ छ । औँला हुँदै पेटमा जुका पर्ने, टाइफाइड, हेपाटाइटिस ए र ई, आउँ सर्ने, छालाको इन्फेक्सन हुनसक्ने, पोलियोसमेत सर्ने सम्भावना हुने उनको भनाइ छ ।
सम्भावित जोखिमबारे डा. कुशवाहाले भने, ‘सेप्टिक ट्यांकमा मिथेन, कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइडजस्ता ग्यास पाइन्छन् । लामो समयसम्म यिनको सम्पर्कमा रहे अचेत हुने, श्वासप्रशवास प्रणालीमा समस्या आउनेजस्ता घटना हुनसक्छ ।’
अझ सेप्टिक ट्यांकी सफा गर्नुअघि मापसे गर्दा मान्छेमा निर्णय गर्ने क्षमता घट्ने तथा यसबाट ज्यानको जोखिम झनै बढ्ने उनी बताउँछन् । व्यक्ति आफ्नो नियन्त्रणमा नहुने र भाग्ने अवस्था नहुने हुँदा मृत्यु हुने सम्भावना झन् बढ्ने उनको भनाइ छ ।
जातकै कारण अवसरको अभाव
राजविराज नगरपालिका नजिकै जेलसँगै जोडिएको छ मेस्तरटोली । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी झन्डै साढे तीन सयको बसोबास छ । बस्तीको नयाँ पुस्ता सबैले लेखपढ जानेको छ । एसइई दिएका आधाभन्दा बढी रहेको र स्नातक पढ्दै गरेका पनि छन् ।
त्यहाँ बस्ने सबैजसोको पेसा हो सरसफाइ र सुंगुरपालन । शैक्षिक रुपमा भन्ने हो भने स्नातक पढ्दै गरेका युवा पनि छन् । एसइइ दिनेको संख्या राम्रै छ, निजी विद्यालयका लागि तयार बालबालिका र किशोरकिशोरी बस्तीमा भेटिन्छन् । तर सबै नै सरसफाइ र सेप्टिक ट्यांकी सफा गर्ने कार्यमा संलग्न छन् ।
‘हो, हामी गर्छौँ यहि काम । अरु काम छ? जागिर छ? कसले दिन्छ? सुंगुर पाल्ने, फोहोर सफा गर्ने, दिसापिसाब सफा गर्ने । योबाहेक कामै छैन हाम्रो । हातले होस् वा ट्यांकरले,’ स्नातक पढ्दै गरेका ती युवा भन्छन्, ‘हामीले ट्वाइलेटको हौद सफा गर्छौँ भन्नु घिनको कुरा हो । एक त हाम्रो थर सुनेरै मान्छेले राम्रो भन्दैनन् । झन् हौदको कुरा भन्यो भने जे साथी छन् उनीहरुले पनि दुर्दुर् भन्छन् ।’
मेस्तर समुदाय शैक्षिक रुपमा पनि पछाडि परेको समुदाय हो । तर राम्रो शिक्षा पाएकाहरुले पनि रोजगारीका रुपमा सरसफाइकै काम गर्ने गरेका छन् । अन्य नोकरी नपाइने र वैदेशिक रोजगारीमा जानका लागि पर्याप्त रकम नभएको उनीहरु बताउँछन् ।
‘यहाँ हाम्रो उमेरको कोही पनि छैन जसले लेखपढ गर्न नजानेको होस् । छात्रवृत्तिमा नाम ननिस्किँदा पढाइ छाडेको, आर्थिक अवस्थाले नसकेर बीचैमा छाडेकाहरु थुप्रा छन् । तर पेसा सबैको सरसफाइ नै हो,’ बस्तीका एक २३ वर्षीय युवाले भने, ‘नढाँटी भनौँ त मैले पनि हेल्थ (शिक्षा) लिएर प्लस टु गरे पनि काम त्यहि गर्छु । पैसा आउने बाटो नै त्यहि हो त के गर्ने?’
मृत्युसम्मका घटना, न क्षतिपूर्ति न राहत
यसरी सेप्टिक ट्यांकी सफा गर्दा मृत्यु हुने घटना देशभर हुँदै आइरहेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ तमु टोलमा दुई युवाले ज्यान गुमाए । कपिलवस्तुको शिवराज नगरपालिका ९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनि चिनिने डाक्टर चौधरीले स्थानीय रामप्यारी गुरुङको सेप्टिक ट्यांकी सफा गर्दा मृत्युवरण गर्न पुगे ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुरुमा छतिराम चिप्लिएर लडेपछि उनलाई उद्धार गर्न गएका भिनाजु नाताका डाक्टरको पनि मृत्यु भएको थियो । उनीहरु दुवै भरतपुरभित्र सफाइ मजदूरको काम गर्दै आएका थिए । २०७९ जेठ २५ मा उनीहरुको मृत्यु भएको थियो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई जनाको पनि मृत्यु यसैगरी भयो । सोहि नगरपालिका वडा नं. २ मा एक घरको सेप्टिक ट्यांकी सफा गर्ने क्रममा ४० वर्षीय घुमन डगौरा र ३५ वर्षीय गणेश रानाको ज्यान गएको थियो । सफा गर्दागर्दै उनीहरु सेप्टिक ट्यांकीमा खसेका थिए जसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि दुवैको शव सेप्टिक ट्यांकीबाट निकालिएको थियो ।
धनुषाको धनुषाधाम नगरपालिका–३ मा सेप्टिक ट्यांकी जाम खुलाउन गएका ४५ वर्षीय ठेकु मल्लिकको दुई वर्षअघि ज्यान गयो । ०८० को १७ चैत शनिबारको दिन ठेकु नगरपालिकाले धनुषाधाम मन्दिर नजिकै सञ्चालन गरेको शौचालयको जाम खोल्न भित्र पसे । वैदेशिक रोजगारीबाट फर्किएका उनी त्यसपछि भने धनुषामै शौचालय ठेक्कामा लिइ सञ्चालन गर्दै आएका थिए ।
श्रीमती कविता मल्लिक र ११ वर्षीय छोरासहित शौचालय पुगेका उनले कहाँ जाम भएछ भनी हेर्न ट्यांकीको ढक्कन खोलेर भित्र पसे । १०–१५ मिनेटसम्म ननिस्किएपछि र बोलाउँदा आवाजसमेत नआएपछि तीन पटक उनी नजिकै रहेको प्रहरी कार्यालय पुगिन् । ४२ वर्षीया कविता त्यो दिन सम्झिन्छिन्, ‘मैले छोरीलाई फोन गरेँ । अनि ज्वाईँ डोरी लगाएर हेर्न पसे । तर उनको पनि केही हलचल नभएपछि तान्दा त उनी पनि बेहोस भएका रहेछन् । त्यसपछि बल्ल प्रहरी आयो ।’ प्रहरीले उद्धार गर्दासम्म ठेकुको मृत्यु भइसकेको थियो ।
कविता अहिले नगरपालिकामा डोर हाजिरीमा काम गर्छिन् । त्यहि पैसाले घर चलेको छ । छोराको उपचार भइरहेको छ । ‘त्यो बेला नगरपालिकाका हाकिमहरुले पैसा आउँछ तपाईँको खातामा भन्थे, कुन खातामा भनेका हुन् खै?’ उनले भनिन् ।
यस्तै काम गर्न जाँदा दुर्घटनामा परे, सिरहाका २२ वर्षीय रविन मल्लिक । उनी सेप्टिक ट्यांकी सफा गर्ने ट्यांकरमा पनि काम गर्न जान्छन् । प्रतिदिन ५ सयदेखि १५ सय रुपैयाँसम्ममा उनीसमेत उनका बस्तीका युवाहरु जान्छन् । निजी विद्यालयबाट ८ कक्षा पढेका रविनले आर्थिक अवस्थाका कारण पढाइ छाडी सरसफाइको काम गर्दै आएका छन् ।
एक वर्ष अघिको एक शनिबारका दिन उनी सिरहाकै गुलरियामा काम गर्न पुगेका थिए । ड्राइभिङबाहेक फोहोरमा पाइप हाल्ने, फाल्नेजस्ता काममा प्रायः दलित युवा नै जाने गरेका छन् । सो दिन उनी पनि ट्यांकीमा सहयोगीका रुपमा काम गर्न गएका थिए ।
‘त्यो दिन गाडीको फित्ता २–३ पटक उत्रियो । पटक–पटक मिलाउनुप¥यो । एकछिन मेसिन बन्द गर्नुस् भनेको ड्राइभरले सुनेनछ, अनि बेल्ट मिलाउँदै गर्दा मेसिन चल्यो र हातका औँला नै गए,’ रविनले भने । घटनालगत्तै बेहोस भएका उनी आँखा खुल्दा जनकपुरको प्रादेशिक अस्पतालमा थिए । त्यसपछि अत्यधिक रक्तश्राव र नसाको कारण उनको दाहिने हातै सुक्यो ।
सातासम्म उनले काठमाडौं आइसमेत उपचार गराए । यस क्रममा लागेको खर्च जसले लगेका थिए, जसको गाडी थियो उनैले बेहोरे । ‘२५ सयको ठेक्का थियो, मेरो उपचारमा त्यसको १० गुणाभन्दा बढी गइसक्यो । अहिले पनि यो हातको नङ छोइँदा दुख्छ,’ रविनले भने ।
उनी नगरपालिकामा पनि सरसफाइकर्मीका रुपमा काम गर्छन् । त्यसबाहेक उनी पहिलेजस्तो अरु काम गर्नै सक्दैनन् । सशस्त्र प्रहरीको फारम भर्दा पनि औँलाकै कारण छनोट भएनन् । ‘विदेश जान, पासपोर्ट बनाउन पनि दशै औँलाको छाप चाहिने रहेछ । नगरपालिकामा पनि स्थायी जागिर हो र? कुन दिन निकालिदिने हो थाहा छैन,’ रविनले थपे ।
पेशागत सुरक्षको अवस्था दयनीय
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार यसरी सेप्टिक ट्यांकी सफा गर्ने कामदारका विषयमा छुट्टै कुनै मापदण्ड, कार्यस्थल सुरक्षासम्बन्धी नियम छैन । विभागका प्रवक्ता तथा प्राविधिक निर्देशक मणिनाथ गोपका अनुसार प्रचलित ऐनले अन्य औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत अन्य श्रमिकलाई झैँ समेटेको छ ।
‘तर विशिष्टिकृत यस्तै सरसफाइकर्मीका लागि भनेर चाहिँ कुनै मापदण्ड वा कानून छैन । किनकी यो निर्माण प्रक्रिया निकै लामो हुन्छ,’ उनले भने, ‘त्यस्तो जोखिमपूर्ण काम गर्दा डोरी शरीरमा बाँधेर मात्र पस्नुपर्ने, पिपिइ, मास्क, पञ्जा आदि रोजगारदाताले उपलब्ध गराउनुपर्ने त श्रम ऐनमै छ ।’
सेप्टिक ट्याङ्की सफा गर्न हाल सक्सन मेसिनको प्रयोग हुने भए पनि कम ज्यालामा मादक पदार्थ सेवन गराएर मान्छेको मलमूत्र टाउकोमा राखेर फाल्ने जस्ता कार्यमा मधेशका दलित संलग्न छन् । यसले उनीहरुको स्वास्थ्यमा गम्भीर असर गरेको त छ नै औसत आयू समेत घटाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयद्वारा प्रकाशित राष्ट्रिय जनगणणा २०७८ दलितसम्बन्धी तथ्यांकीय प्रतिवेदनअनुसार शैक्षिक हिसाबले अन्य जातिभन्दा र पहाडी दलितभन्दा पनि मधेसका दलित पछाडि छन् । पहाडी दलितहरुमध्ये आर्थिक काम नगर्नुको प्रमुख कारण विद्यार्थी भएकाले हो भन्ने झन्डै ३८ प्रतिशत छन् भने झन्डै २६ प्रतिशत मधेसी दलितले मात्र उपार्जन नगर्नुको कारण विद्यार्थी रहेकाले हो भनेर जवाफ दिएका थिए । मधेसका दलित पुरुषमा साक्षरता दर ५७ प्रतिशत छ भने महिलामा ४१.४ प्रतिशत छ ।
प्रतिवेदनको जातजातिअनुसार जीवनप्रत्याशा अध्ययन गरिएको खण्डमा समग्रमा दलितहरुको जीवनप्रत्याशा सबैभन्दा कम रहेको उल्लेख छ । तराई दलित महिलाको जीवनप्रत्याशा ७०.६ हुँदा पुरुषको भने ६७.१ छ । यसैगरी पहाडी दलित महिलाको ७१.५ वर्ष र पुरुषको ६३.१ प्रतिशत छ ।
विभिन्न स्थानीय तहसँग निकट रही सरसफाइको क्षेत्रमा काम गर्दै आएको संस्था एन्फोकी वरिष्ठ अधिकृत सृजना कार्की भन्छिन्, ‘हामीले धेरै स्थानीय तहहरुबाट के सुन्दै आएका छौँ भन्दा त्यहाँ कार्यरत पुराना सरसफाइकर्मीको मृत्यु अन्य अवकाश प्राप्त कर्मचारी भन्दा चाँडै नै हुने गर्छ । मानव मलमूत्रजन्य फोहोमा काम गर्ने सरसफाइकर्मीहरुको स्वास्थ्य र आयूमाथि कस्तो असर परिरहेको छ यो विषयमा पर्याप्त अध्ययन हुनु जरुरी छ ।’
खानेपानी, सरसफाइ र जनस्वास्थ्यका क्षेत्रमा सरसफाइकर्मीसँग निकट रही कार्य गरिरहेकी प्रिती मित्तलका भनाइमा मानव मलमूत्रजन्य सरसफाइमा संलग्न कामदारहरूलाई अनौपचारिक प्रणाली नभइ राष्ट्रिय र स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समेट्न सक्नुपर्छ । उनले भनिन्, ‘कामदार वर्गीकरण, न्यूनतम ज्यालाको व्यवस्था, अनिवार्य तालिम, इजाजतपत्र प्रणाली, र सामाजिक सुरक्षा तथा बीमासँग आबद्ध गर्नुपर्छ ।’
उपयुक्त सुरक्षाका मापदण्डबिना यस्तो जोखिमपूर्ण काममा संलग्न गराउनु उचित नहुने उनको मित्तलको भनाइ छ । सुरक्षित बनाइ समाजमा यस कार्यलाई सम्मानित स्थान दिलाउन राज्यबाटै पहल हुनुपर्ने उनी बताउँछिन् ।
यसैमा सहि थप्छिन् कार्की पनि । अनौपचारिक रुपमा बिना सम्झौता काम गराउने र त्यस क्रममा दुर्घटना वा ज्यान गए कसैले जिम्मा नलिने भएका कारण यसरी हातले सेप्टिक ट्यांक सफा गराउने कार्य बन्द गरी यान्त्रिक विधिको प्रबन्ध गरिनुपर्ने उनको मत छ । निजी क्षेत्रलाई काम गर्ने वातावरण मिलाउनुपर्ने र सरसफाईकर्मीको पेसागत हक हितलाई प्राथमिकता दिनुपर्ने उनले बताइन् ।
‘विदेशमा पनि सरसफाइको काम त हुन्छ । तर तालिमप्राप्त सरसफाइकर्मीहरुले गर्छन् । काम गर्दा उनीहरुले प्रयोग गर्ने औजार देखि व्यक्तिगत सुरक्षा सामग्रीलगायतका व्यवस्था नीति बनाएरै गरिन्छ । यहाँ पनि त्यो लागू हुनु जरुरी छ,’ कार्की भन्छिन् । कार्कीका अनुसार अनिवार्य परिचयपत्र र तालिमको व्यवस्था गरेमा राज्यसँग तथ्यांक पनि रहने र निःशूल्क भ्याक्सिन, लगायतका सुविधा दिन सहज हुने उनी बताउँछिन् ।
मधेश प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा अध्येता सोहन कुमार साह प्रदेश तहबाट नै प्रयास भइ मधेसका स्थानीय तहबाट कार्यान्वयन हुनेगरी सरसफाइकै कार्यमा वर्षौँदेखि लागेकाहरुलाई सुरक्षा प्रदान गरिनुपर्ने बताउँछन् । साथै, हालको समयमा प्रत्यक्ष रुपमा मान्छेले मानव मलमूत्र सफा गरिनु मानव अधिकारको गम्भीर विषय भएका कारण प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव उनको छ ।
सरसफाइको विषय प्रदेशको अनुसूचीमा पर्ने भएकाले कसरी मलमूत्रजन्य फोहोर व्यवस्थापन गर्ने, कसरी ‘ब्ल्यांकेट कानून’ बनाएर सबै पालिकाहरुलाई उपलब्ध गराउनुपर्ने र त्यहाँबाट कार्यपालिकाले पास गरेपछि कार्यान्वयनको चरणमा लैजानुपर्ने उनको मत छ । तर प्रदेश र स्थानीय तह मिलेर दलित समुदायलाई सेप्टिक ट्यांक खरिदमा अनुदान दिने, सञ्चालनमा छुट दिनेजस्ता उपायबाट सहज बनाउन सकिने साहको भनाइ छ ।
‘प्रदेशले जुन सशर्त अनुदान दिन्छ, त्यसमा एउटा शर्त राख्न सकिन्छ कि सरसफाइकर्मीको लागि परियोजना सञ्चालन गर्नुपर्ने वा यस्तै । साथै, सरसफाइकर्मीको सुरक्षाका लागि मापदण्ड पनि बनाउनु जरुरी छ,’ साहले भने ।
काम खोसिने पीर
ट्यांकरको प्रयोग पछिल्लो समय बढ्दै गएकोमा खुसी हुनुको साटो उल्टै काम खोसिएको भन्छन् मलंगवाका विजय । ‘अहिले जताततै मेसिन नै छ । हाम्रै सेप्टिक ट्यांकी सफा गराउँदा त मेसिन बोलाउँछौँ । काम पाउनै मुस्किल भइसक्यो । पैसा हुनेहरु विदेश जान्छन्, नत्र मयूरी (टेम्पो) किन्छन् । यहिँ काम गर्न गाह्रो हुन्छ,’ उनले भने ।
सिरहाका विक्कीको पनि उस्तै गुनासो छ । ‘अहिले पो ट्यांकी आएको हो त ! ट्यांकीले केवल पानी वा मुत्र मात्र फाल्छ । तल जमेर बसेको फोहोर अझै पनि हातैले सफा गर्ने हो,’ विक्कीले भने । उनका अनुसार अझै पनि सिरहाभित्र हातले ट्यांकी सफा गराउनेहरु छन् र बढी पैसा परे पनि राम्रोसँग सफा हुन्छ भनेर उनीहरुले ट्यांकीभन्दा पनि मान्छे नै लगाउँछन् । ‘यो काम बुझ्नेले अझै मान्छे नै लगाउँछन् ट्यांकीभन्दा,’ उनले भने ।
हालै मात्र यसरी सफा सेप्टिक ट्यांकी सफा गराउनेमध्ये एक हुन् सिरहाका दलित अधिकारकर्मी तथा स्थानीय अगुवा अरुण कुमार पासवान । १० चैतमा उनले सिरहाबाट सरसफाइकर्मी नै बोलाएर आफ्नो घरको सेप्टिक ट्यांकी सफा गर्न लगाए ।
‘मैले त ट्यांकर नै बोलाएको हुँ । तर सफा भएन । माथि–माथिको तान्दो रहेछ, तलको बाक्लो फोहोर त्यतिकै हुने रहेछ । बेकारमा पैसा मात्र गयो,’ पासवानले अनुभव सुनाए, ‘गाडीले सफा गराउँदा ५ हजार अनि हातले गराएको ६ हजार रुपैयाँ लाग्यो । हातले गराउनुको विकल्प नै नहुने रहेछ ।’
पासवानका अनुसार यसरी हातले सफा गर्नेहरुमा युवाहरु नै थिए । दुई लिटर मट्टितेल दिएको र केही रकम एडभान्स दिएपछि युवाहरुले सफा गरेको उनले जानकारी दिए । यसरी सेप्टिक ट्यांकीबाट निकालिएको फोहोर नजिकैको पोखरीमा फालिएको एक स्थानीयले बताए ।
पुस्तौँदेखि सरसफाइको काम गरे पनि हाल सफाइ ट्यांकीको स्वामित्व भने अधिकांश अन्य जातिको छ भने दलित समुदाय केवल श्रमिकको रुपमा दैनिक ज्यालादारीमा ट्यांकीमा सफाइको काम गर्नुपरिरहेको छ । यस्तोमा दलित समुदायले ट्यांकीलाई आफ्नो ‘पेसा खोस्ने मेसिन’ को रुपमा हेरिरहेको छ ।
यस्तो छ तथ्यांक
नेपाल प्रहरीका अनुसार विगत १० वर्षमा ५४ जनाको मृत्यु सेप्टिक ट्यांकीमा डुबेर भएको छ । तथ्यांकअनुसार मृतकमा १७ जना पुरुष, एक जना महिला, ३० जना बालक र ६ बालिका छन् । सबैभन्दा बढी आर्थिक वर्ष ०८१÷८२ मा ११ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आर्थिक वर्ष ०७१/७२ मा २ जना पुरुषको सेप्टिक ट्यांकीमा डुबेर मृत्यु भएको थियो भने त्यसपछिको वर्षहरुमा क्रमशः १, २, ६, ८, ६ र ४ जनाको मृत्यु भएको छ । ०७८/७९ मा भने दुई जना र त्यसपछिका वर्षहरुमा ९ जना, ३ जना र ११ जनाको यसरी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता अबिनारायण काफ्लेका अनुसार यो संख्यामा सफा गर्ने उद्देश्यले जाँदा ज्यान गुमाएकाहरु पनि छन् भने भवितव्य वा दुर्घटनाका कारण सेप्टिक ट्यांकीमा डुबेकाहरुको संख्या पनि समावेश छ । ‘सामान्यतया मृतक पुरुषहरु चाहिँ सफा गर्ने हिसाबले पस्दा अक्सिन कमी भएर वा डुबेर मृत्यु भएकाहरु छन् । पुरुषको संख्यामा धेरैजस्तो यस्तै हो । महिला र बालबालिकाहरु चाहिँ खेल्ने क्रममा डुबेको, भत्किएर पस्दा निस्किन नसकेको यस्ता यस्ता छन्,’ काफ्लेले भने ।
उनका अनुसार निर्माणमा लापरवाही देखिएको, खुला छाडेको वा मारेर सेप्टिक ट्यांकीमा फालेको देखिएको अवस्थामा मुद्दा चलाउने गरिएको छ । आफन्त वा कसैको जाहेरी परे–नपरेको हेरेर, घटना नियोजित वा हत्या हो भन्ने अन्य अनुसन्धान हेरी, शव परीक्षण रिपोर्टको अध्ययनपछि मात्र मुद्दा चलाउने वा भवितव्यका रुपमा अभिलेखीकरण गर्ने निर्णय प्रहरीले गर्ने गरेको काफ्लेले जानकारी दिए ।
(स्राेत : प्रहरी प्रधान कार्यालय नक्साल)

हातैले सेप्टिक ट्यांकीको सफाइ : बिना कुनै सुरक्षा अमानवीय र जोखिमपूर्ण काममा मधेशका दलित
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
स्थानीय वर्षा बिना आएको विनाशकारी बाढी: तिब्बतबाट आएको आकस्मिक बहावले रसुवादेखि त्रिशूलीसम्म मच्चायो तबाही
कर्मचारी संगठन खारेजीको विषय फेरि सर्वोच्चमा : अल्पकालीन अन्तरिम आदेश जारी, सर्वोच्चले डाक्यो दुवै पक्ष
मौखिक यौन दुर्व्यवहार पनि बर्खास्तीसम्मको कारवाहीको आधार बन्न सक्छ: सर्वोच्च