रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ

इसमाद इसमाद    40 Views
रसुवा बाढीबारे प्रधानमन्त्री : मन भारी छ, विपद्को बेला एक ढिक्का हुनुपर्छ
0Shares

१० भदाै, काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढीले मन भारी बनाएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् एक पोस्ट गर्दै यस्तो समयमा एक ढिक्का हुनसमेत आग्रह गरेका छन् ।

‘आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ,’ प्रधानमन्त्रीको पोस्टमा छ, ‘यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्रीले रातको समयमा समेत उद्धार जारी रहने जनाएका छन् । नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएको भन्दै उनले यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने उल्लेख गरेका छन् ।

बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइने पोस्टमा छ । साथै, विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनको भनाइ छ ।

पोस्टमा थप छ, ‘अहिलेको यो समय निकै संवेदनशील छ। घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो ।’

हालसम्म ५० भन्दा बढीको ज्यान गइसकेको छ भने २५० भन्दा बढीको उद्धार गरिएको छ । सेनाका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत उद्धारमा खटिएका छन् ।

घाइतेहरुको निःशूल्क र सहज उपचारका लागि ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको र उद्धारका लागि आवश्यक जनशक्ति परिचालन भएकोसमेत प्रधानमन्त्री शाहको भनाइ छ । उपत्यकाका अन्य अस्पतालसमेत तयारी अवस्थामा रहेको र चिकित्सकसहितको टोली विपद् प्रभावित क्षेत्रमा क्रियाशील रहेकोसमेत पोस्टमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार