वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न विशेष बारको माग

इसमाद इसमाद    107 Views
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न विशेष बारको माग
0Shares

२ माघ, काठमाडौं।

विशेष अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विशेष बारले विज्ञप्ती जारी गर्दै घटनामा संलग्न व्यक्तिउपर कारवाही हुनुपर्ने माग गरेको हो ।

बार सचिव अधिवक्ता युवराज बञ्जाडेले बुधबार जारी गरेको विज्ञप्तीमा कानून व्यवसायीमाथि भौतिक आक्रमण हुनु लोकतान्त्रिक र राजनीतिक चरित्रविपरीत भएको उल्लेख छ । ‘मुद्दामा प्रतिनिधित्व गरेकै आधारमा आक्रमण गर्नु उन्नत लोकतान्त्रिक चरित्र विपरीतको आपराधिक कार्य हो भन्ने यस बारको ठम्याइ रहेको छ र उक्त कार्यको घोर निन्दा गर्दछ,’ विशेष बारको विज्ञप्तीमा छ ।

स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पीडित जाहेरवालाको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता त्रिपाठी जिल्ला अदालत काठमाडौं पुगेका थिए । तर फर्किने बेला मूलगेटमा उनीमाथि भीडले हातपात गरेको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि राष्ट्रिय स्वतन्त्र पार्टि र उक्त पार्टिका अध्यक्ष रवि लामिछानेका समर्थकले आक्रमण गरेको बताएका छन् ।

विशेष बारले विज्ञप्तीमा थप भनेको छ, ‘यस्ता खालका अवाञ्छित गतिविधि न त राजनैतिक हुन सक्दछन् न त लोकतान्त्रिक चरित्र अनुकूल नै, जे जस्तो उद्देश्य राखी जुनसुकै समूहबाट गरिएको भएता पनि कानून व्यवसायीमाथिको आक्रमण समग्र कानून व्यवसायी एवम् सिंगो न्याय प्रशासनमाथिको आक्रमण रहेकाले यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी, अविलम्ब पक्राउ गरी कानूनबमोजिम कारवाही गर्न यो बार एसोसिएसन जोडदार रुपमा माग गर्दछ ।’

यसैबीच काठमाडौं जिल्ला अदालत बारले पनि विज्ञप्ती जारी गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण न्यायपालिकामाथिको आक्रमण रहेको बताएको छ । उक्त बार इकाइका अध्यक्ष आरसी विमल र सचिव उज्वल राम श्रेष्ठले घटनामा संलग्नहरुलाई पक्राउ गर्न माग गरेका हुन् ।

कानून व्यवसायीले मुद्दाको पक्षहरुका तर्फबाट प्रतिनिधित्व गर्नु व्यवसायीक धर्म रहेको भन्दै विज्ञप्तीमा पैरवी गरेकै कारण उच्छृङ्खल व्यक्तिहरुबाट अमानवीय व्यहार भएकोप्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा छ । ‘पक्षको तर्फबाट बहस पैरवी गरेको विषयमा कानून व्यवसायीमाथि आक्रमण गर्ने कार्य अदालतमा पक्षको स्वतन्त्र प्रतिनिधित्वको सिद्धान्तविपरीत हो । पक्षको तर्फबाट बसह पैरवी गरेको विषयमा कानून व्यवसायीमाथि आक्रमण गर्ने कार्यबाट स्वतन्त्र, सक्षम र निर्भिक न्यायपालिकामाथि आक्रमण भएको यस बार एसोसिएसनको ठम्याइ हो,’ विज्ञप्तीमा छ ।

1 thought on “वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न विशेष बारको माग

Leave a Reply to win789vn8 Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार